My Instragram Photos

Thursday, April 19, 2012

दार्जिलिङ्गका नेपालीभाषी

असरल्ल जिपहरुको बिचमा कुन्नी के खोज्या जस्तो हेरीरहेका छन यहाँका नेपालीहरु । जिप रोकिन्छ फेरी दौडन्छ , फेरी अर्को आउछ अनी फेरी रोकिदै जादै गर्दछ दिनभरी यो क्रम जारी रहेको छ । काँन्तीक्षय भएको जस्तो ति अनुहारमा फिस्स क्षणिक मुखाले हाँसो अनी पुनः उहि मुन्द्रामा । हाम्रा तिरका मानिसहरुले जस्तो पल्याकपुलुक्क जस्तो पनि गर्न नजानेर हो कि वा के हो ?ठुलै बज्रपात परेको जस्तो मलिन अनि मौन अनुहार के कति आग्रह वा दुखेसो छन होला ति मनमा बुझन कठिनाई पर्ने अबस्था । यहाँको श्री ५ को सट्टामा नेपाल परिबर्तन भएको झै पहिले जाँदा पश्चिमबंगाल लेखिएका बोर्डहरु अहिले गोर्खाल्याण्डमा परिणत भैसकेछन, "काश ति बोर्डहरु जस्तै मनहरुको खुसीमा पनि परिबर्तन भैदिए राम्रो हुन्थ्यो" भन्छन दार्जिलिङ्गका नेपालीहरु ।


डुअर्स क्षेत्रका नेपाली भाषीहरुको आँन्दोलन दवाउन त्रिपक्षिय ,चौपक्षिय वार्ताहरु हुन्छन यहाँ, कहिले गोरामुमोले पैसा खायो भन्ने हल्ला फिजिन्छ त कहिले गोजमुले । केन्द्र सरकार बाट बेला बेलामा दार्जिलिङ्ग अब स्विटजरल्यान्ड बन्ने भयो भन्ने आश्वासन सुन्न पाईन्छ तर मानिसहरुको गुनासो त्यहि हो दाजिलिङ्ग क्षेत्रको कमाई जती सप्पै सिलगुडि लगेर बंगालीहरुलाई पोस्यो । क्षेत्रिय संघियताको एउटा नराम्रो उदाहरण ।


हरेकदिन नेपाल र नेपालीहरुको चियो–चर्चा चल्दछ दार्जिलिङ्गमा । खरस्याङ्ग बाट प्रसारित अलईन्डीया आकाशबाणिका नेपाली कार्यक्रम नियमित सुन्छन नेपालीभाषीहरु, सिमानाबाट बज्ने नेपाली एफ.एम.को सिग्नल पाउन बुस्टरको प्रयोग गर्छन , र त्यहि एफ.एमका समाचारहरु श्रोत बन्छन त्यहाँबाट प्रकाशित हुने दर्जन भन्दा बढि नेपाली भाषाका दैनिक अनि साप्ताहिक पत्रिकाको लागी । यस्का साथै नेपालबाट प्रसारित टि.भि. का च्यानलहरु सबै घरहरुमा पूग्दछ अनी नेपालको घटनाहरु चोक चोकमा बिश्लेषण हुन्छ दार्जिलिङ्गमा ।

सबैको घरमा झुन्डीएको नेपाली पात्रोको तिथिमिति अनुसार चल्छन त्यहाँका मानिसहरु दशै, तिहार, तिजका अलावा अझै पनि औसी, एकादशी, मान्छन बुढापाकाहरु ।


चिया बगानको काम गर्नेमा महिलाहरुकै बाहुल्यता रहेको छ दार्जिलिङ्ग क्षेत्रमा र यहाँ श्रम कानुन पनि रहेछ, नियमानुसार तलब पाउदा रहेछन चियाकमान हरु बाट । बुढापाकाहरु दिनभरी बजार टहल्दै सैनिक पेन्सीन बाट प्राप्त रकम रक्सी सेवनमा अलि बढि खर्च गर्दा रहेछन । यूवाहरु त्यती सारो भेटिदैनन पढाई सिध्याएर कामको खोजीमा जाँदा रहेछन भारतका बिभिन्न क्षेत्र अनी नेपाल तिर । ९० को दशक सम्म दार्जिलिङ्गका मास्टर भनेपछि नेपालमा एकदम राम्रो डिमान्ड थियो रे भुटानीहरु नेपाल पसेर हामी पनि दार्जिलिङ्गका हौ भनेर एकदमै सस्तो रकममा पढाउन थाले अनि क्वालिटि भएका दार्जिलिङ्गका टिचरहरु बिस्थापित भएको रे नेपालबाट “भन्नुहुन्छ नेपालमा बसेर शिक्षिका भईसकेकी माया प्रधान” ।

घरहरु साना भए पनि हरेक घरहरुमा ठकमक्क फुल फुलेको हुन्छ दार्जिलिङ्गमा । “फुल फक्रेको जस्तो यो मन पनि फक्रेको भए कति आनन्द आउथ्यो होला तर तिसौ बर्षदेखि जाहाँको त्यहि छौं हामी जसो तसो कमायो खायो बस त्यति मात्र“ । धनीहरु पनि नभएको हैनन ठुला ठुला होटलहरु तथा चियाकमानहरु साथै बजार क्षेत्रमा नेपालीभाषीहरुकै बाहुल्यता छ ।


नेपालबाट आएको भनेपछि अलिक सहुलियत हुदो रैछ दार्जिलिङ्गमा । घुममा दुरबिन राखेर दृष्य देखाउने पेशा गर्ने समिर भन्दैथिए “यो बंगालीहरुको लागी ३० रुप्या हो नेपालीहरुको लागी चै १० रुप्या मात्र दिनुस” । नेपाललाई आफनो पुख्यौली ठान्ने नेपालीभाषीहरु भन्छन “हाम्रा हजुरबुबाको बुवा पनि उदयपुर तिरको रे हाम्रो घरबार उतै छ तर अहिले सम्म गएको छैन! हामीलाइ गाडीमा घुमाउने सानुभाई लिम्बु –“पशुपतीनगर तिरको ट्रिप परेको बेलामा गाडी पार्किङ्ग गर्छु अनी फाटक पार गरेर नेपाली भुमीमा गएर चिया पिउछु नेपालको समानहरु किन्छु अनी मनग्य मात्रामा नेपाली माटोको सुगन्ध लिन्छु अनी त्यहि सुगन्धमा मलाई पुर्खाहरुले बोलाएको भान हुन्छ” ।


नेपालीहरुलाई अत्यन्त माया गर्ने स्वभाव भएका दार्जिलिङ्गका नेपालीहरुको त्यो निर्दोश अनी सौम्य मुहारमा भएको निराशा अनी अबोधपनको राज खोतल्नु मेरो बर्कतले नभ्याउने रहेछ । अर्को पटक आउदा मुहारमा चञ्चलपन अनी ति घरहरुमा फक्रेका फुलहरु अनुहारमा देख्न पाँउ ।

No comments:

Post a Comment